ममाथि आक्रमण हुँदा सेनाको कर्णेल र जेनजीहरूले नै जोगाएः शेरवहादुर देउवा

काठमाडौँ । शेरवहादुर देउवाले भदौ २४ गते आफूमाथि आक्रमण हुँदा नेपाली सेनाको कर्णेल र जेनजीहरूले नै जोगाएको बताए । त्यस्तै उनले यस्तो आक्रमण होला भन्ने कल्पनै नभएको पनि सुनाए । काठमाडौँमा केही सञ्चारकर्मीसँग देउवाले भदौको आक्रमणका बारे मुख खोलेका हुन् ।
‘यस्तो आक्रमण होला भन्ने त कल्पनै भएन । चारैतिरबाट घेरेर आक्रमण भयो । निस्किने मौकै पाइएन । राजावादीको कतै पनि केही भएन नि । तपाईंहरूलाई पनि थाहा होला र रास्वपाको पनि कतै भएन,’ उनले भने, ‘सबैभन्दा धेरै हाम्रो कांग्रेसका नेताका घर, पार्टी कार्यालय आक्रमण गरियो । हाम्रो पछि एमालेको क्षति भएको पाइयो । हाम्रोभन्दा माओवादीको केही कम क्षति भएको देखियो ।’
उनले आफूलाई जेनजी र आर्मीले जोगाएको बारे भने, ‘हामीलाई त जेनजीले नै जोगाए । आर्मीका कर्णेलले पनि जोगाएका हुन् मलाई चाहिं । यो आन्दोलनमा घुसपैठ भएको त देखिन्छ ।’






