सिन्धुपाल्चोकमा दलहरू उम्मेदवार सिफारिसको भइसकेका छन् । तर सूची हेर्दा लाग्छ—निर्वाचन मिति मात्रै फेरिएको हो, उम्मेदवार भने वर्षौँदेखि उस्तै छन् । कांग्रेस र एमालेजस्ता ठूला दलले नयाँ अनुहार समेट्न नसक्दा ‘पुस्तान्तरण’ भन्ने शब्द फेरि चुनावी भाषणमै सीमित हुने संकेत देखिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले उमेरले ज्येष्ठ भइसकेका पशुपतिशमशेर राणालाई फेरि मैदानमा उतार्ने गरेर सिफारिस गरेको छ । मानौँ, पुस्तान्तरण होइन निरन्तरता नै राजनीतिक सिद्धान्त हो । नेकपा एमालेले यसअघि पटक–पटक टिकट पाइसकेका शेरबहादुर तामाङलाई पुनः सिफारिस गरेर अनुभव नै योग्यता भन्ने मान्यतालाई दोहोर्याएको छ ।
नेपाली कमिन्युष्ट पार्टीले बागमती प्रदेश सभा सदस्य भइसकेका युवराज दुलाललाई संघीय यात्रामा पठाउने निर्णय गरेको छ । अवसरले भने राम्रोसँग परिपक्व भइसकेका नेता हुन् दुलाल । नेपाली कांग्रेसले पनि नयाँ अनुहार खोज्ने जोखिम मोल्नुको साटो पूर्वगृहमन्त्री विष्णुविक्रम थापालगायत पुरानै नेतालाई अघि सारेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १ को दृश्य पनि फरक छैन । एमालेले अरुण नेपाल र सरेश नेपाललाई सिफारिस गरेर नाम फेरिए पनि अभ्यास उही भन्ने सन्देश दिएको छ । कांग्रेसले पटक–पटक सरकारको स्वाद चाखिसकेका मोहनबहादुर बस्नेतलाई पुनः मैदानमा उतार्ने तयारी गरेको छ । नेपाली कमिन्युष्ट पार्टीले नेकपा यसअघिको निर्वाचन जितिसकेका माधव सापकोटालाई फेरि उम्मेदवार बनाउँदै जितेकालाई फेरि, हारेकालाई पनि फेरि भन्ने परम्परा कायम राखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलगायत केही नयाँ दल भने अझै उम्मेदवार सिफारिसको निर्णयमा पुगेका छैनन् । सम्भवतः उनीहरू पनि पुरानै नाम छान्न समय लिँदै छन् ।
समानुपातिकतर्फको दृश्य झनै रोचक छ । ठूला र पुराना दलबाट सिफारिस गरिएका कुनै पनि नाम बन्दसूचीमा अटाएका छैनन् । नयाँ अनुहारका लागि भनिएको समानुपातिक सूची पनि पुरानै अनुहारका लागि अपुग बनेको छ । नेपाली कमिन्युष्ट पार्टीले ज्येष्ठ महिला नेतृ भगवती नेपाललाई सूचीमा समेटेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने सिन्धुपाल्चोकका कम्युनिस्ट नेता प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’ नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार चयन भएका छन्।







