सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा नेकपा एमालेले युवा नेतृत्वलाई अघि सार्दै नयाँ राजनीतिक सन्देश दिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लाको राजनीतिक वातावरण तातेको छ।
२०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेको एमाले यस पटक पुरानै ढर्रामा होइन, नयाँ अनुहार र फरक पृष्ठभूमिका उम्मेदवार मार्फत प्रतिस्पर्धामा उत्रिएको देखिन्छ। पार्टी नेतृत्वले संगठनात्मक अनुभवसँगै व्यवसाय, समाजसेवा र स्थानीय भूगोल बुझ्ने क्षमताका आधारमा शेर्पालाई अघि सारेको बताइएको छ।
राजनीतिमा लामो समयदेखि सक्रिय रहे पनि शेर्पा ‘परम्परागत राजनीतिज्ञ’ भन्दा फरक पहिचान बनाएका पात्र हुन्। युवा अवस्थामै व्यवसायमा सफलता हासिल गरेका उनले तातोपानी नाकाबाट व्यापार सुरु गरी स्थानीय उद्यमशीलता र सीमापार व्यापारका क्षेत्रमा सक्रिय भूमिका खेलेका छन्। यही पृष्ठभूमिका कारण उनी व्यवसायी र युवापुस्ता माझ लोकप्रिय बन्दै गएका छन्।
पार्टी संगठन भित्र पनि शेर्पाको यात्रा तल्लो तहबाट सुरु भएको हो। एमाले जिल्ला कमिटीको सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले पार्टीको आर्थिक अनुशासन र व्यवस्थापनमा योगदान दिएको एमाले नेताहरूको भनाइ छ। ११औँ महाधिवेशनमा जिल्लाबाट उच्च मतसहित निर्वाचित हुनु उनको संगठन भित्रको पकडको संकेत मानिएको छ।
शेर्पाको उम्मेदवारीले सिन्धुपाल्चोक–१ मा केवल एमाले कार्यकर्तालाई मात्र होइन, अन्य दलका समर्थक र स्वतन्त्र मतदाताको ध्यानसमेत तानेको छ। भूकम्प र कोभिड–१९ जस्ता संकटका बेला देखाएको सक्रियताले उनीप्रति जनविश्वास बढाएको स्थानीयहरू बताउँछन्।
उम्मेदवारी सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै शेर्पाले जनताको अपेक्षालाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।

स्थानीय एमाले कार्यकर्ताहरू भने शेर्पाको उम्मेदवारीलाई ‘जोश र अनुभवको संयोजन’का रूपमा व्याख्या गर्छन्। उनीहरूका अनुसार भूगोल, समस्या र सम्भावना बुझ्ने युवा उम्मेदवारले यसपटक निर्वाचनको नतिजा बदल्न सक्ने सम्भावना छ।






