सिन्धुपाल्चोक ।

नेकपा (एमाले) बाह्रबीसे नगर कमिटीमा लामो समयदेखि देखिएको विवाद अन्ततः टुंगिएको छ । दुई समानान्तर नगर कमिटी गठन भई संगठन नै अन्योलमा परेको अवस्थामा दुवै पक्षका संरचनाहरू विघटन गर्दै नयाँ निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
यसअघि एक समूहलाई जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठको समर्थन रहेको थियो भने अर्को समूह जिल्ला कमिटीका उपाध्यक्ष, सचिव र उपसचिवलगायत पदाधिकारीहरूको साथमा थियो । विवाद बढ्दै जाँदा नगरस्तरको संगठनात्मक गतिविधि प्रभावित हुँदै आएको थियो ।
विवाद समाधानको सहमतिपछि माधवप्रसाद नेपाल र बमबहादुर तामाङको नेतृत्वमा रहेका दुवै समानान्तर कमिटी विघटन गरी आङ्गदोर्जे शेर्पाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । नवगठित कमिटीको बैठक बसेर शनिबार चुनावी कार्ययोजना पनि तयार पारिएको शेर्पाले जानकारी दिए ।
शेर्पा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसमा परेका थिए । तर, अग्रज नेताहरूलाई सम्मान गर्दै उम्मेदवारीबाट पछि हटेका थिए । ‘मेरो लागि व्यक्ति होइन, पार्टी र सूर्य चिन्ह महत्वपूर्ण हो,’ उनले भने, ‘एमालेको जितका लागि दत्तचित्त भएर लाग्नेछु ।’
बैठकमा सहभागी दुवै पक्षका नेताहरूले अब आपसी मतभेद अन्त्य गर्दै एमालेको पक्षमा एकजुट भएर चुनावी माहोल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नगर कमिटीको विवाद समाधानसँगै बाह्रबीसेमा एमाले संगठन फेरि सक्रिय हुने अपेक्षा गरिएको छ ।






