काठमाडौं ।

ल्हासास्थित कुजिलिन स्क्वायर, विन्हे पार्कमा सञ्चालनमा आएको ‘नेपाली रेष्टुरेन्ट’को एक समारोहबीच उद्घाटन गरिएको छ। ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त रेष्टुरेन्टका प्रोपाइटर चिनियाँ नागरिक ल्होसोङ निगा हुन्।
कार्यक्रममा सयौंको संख्यामा स्थानीय बासिन्दा तथा अतिथिहरूको उपस्थिति रहेको थियो। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र प्रोपाइटर ल्होसोङले संयुक्त रूपमा रेष्टुरेन्टको उद्घाटन गरेका थिए।
प्रोपाइटर ल्होसोङले काठमाडौँ महानगरपालिका वडा नं. ६, तीनचुलीमा ‘तारा रग्स उद्योग’ सञ्चालन गर्दै करिब तीन दशकदेखि नेपालमा समेत व्यवसाय गर्दै आएका छन्। उनले नेपाल–चीनबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए।
रेष्टुरेन्टको सजावट नेपाली परम्परागत शैलीमा गरिएको छ। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई थकाली थाली सेटबाट स्वागत गरिएको थियो। कास वा चरेसका थाल, बटुका तथा काँटा–चम्चा प्रयोग गरी नेपालीपन झल्काइएको थियो। समारोहमा नेपाली तथा चिनियाँ कलाकारहरूले नेपाली र तिब्बती गीत तथा नृत्य प्रस्तुत गरेका थिए। रेष्टुरेन्टमा नेपाली कामदारहरू पनि कार्यरत रहेको जनाइएको छ।
महावाणिज्यदूत निरौलाले नेपाल र चीन, विशेषगरी तिब्बतसँग युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सरकारी तहमा मात्र नभई जनस्तरमा समेत गहिरो सम्बन्ध रहेको बताए। उनले नेपाली व्यवसायीहरूले लामो समयदेखि तिब्बतका विभिन्न स्थानमा व्यापार–व्यवसाय गर्दै आएको तथा ल्होसोङजस्ता चिनियाँ व्यवसायीहरूले नेपालमा समेत लगानी र व्यवसाय विस्तार गरेको प्रसंग उठाए।
ल्हासामा धेरै नेपाली रेष्टुरेन्ट तथा अन्य नेपाली व्यवसाय सञ्चालनमा रहेको र काठमाडौँमा पनि चिनियाँ रेष्टुरेन्टहरू सफलतापूर्वक चलिरहेको उल्लेख गर्दै उनले दुवै मुलुकका नागरिकहरूको खानपान, रीतिरिवाज, परम्परा र संस्कृतिमा समेत केही समानता रहेको बताए। ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा सञ्चालित यो रेष्टुरेन्ट पनि सफलतापूर्वक सञ्चालन हुने विश्वास उनले व्यक्त गरे।
उद्घाटन गरिदिएकोमा महावाणिज्यदूत निरौला तथा महावाणिज्यदूतावास परिवार र उपस्थित स्थानीय नागरिकहरूलाई धन्यवाद दिँदै प्रोपाइटर ल्होसोङले नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउन यस्ता पहलहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै रेष्टुरेन्टमार्फत नेपाली स्वाद र संस्कृति ल्हासामा पस्किने बताए।






