काठमाडौँ ।

आजदेखि देशव्यापी रूपमा दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगेर स्थलगत तथ्य सङ्कलनको काम थालिसकेका छन्।
निर्धारित कार्यतालिका अनुसार असारको पहिलो साताभित्र स्थलगत विवरण सङ्कलन सम्पन्न गरिने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले औद्योगिक तथा समग्र आर्थिक अवस्थासँग सम्बन्धित यथार्थपरक तथ्याङ्क संकलनका लागि सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक क्षेत्रका संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण समेटिनेछन्।
यसक्रममा दर्ता भएका तथा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, निजी तथा सरकारी विद्यालय, अस्पताललगायत विभिन्न क्षेत्रको विस्तृत विवरण सङ्कलन गरिनेछ।
आर्थिक गणनाको पूर्वतयारी फागुन मसान्तमै सम्पन्न भइसकेको छ। चैतदेखि ७७ जिल्ला र थप सात गरी ८४ वटा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ, जुन असार मसान्तसम्म क्रियाशील रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको पहिलो आर्थिक गणनाले देशभर नौ लाख २३ हजार ३ सय ५६ व्यवसाय तथा प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरेको थियो।






