काठमाडौं — थापाथली क्षेत्रमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ।
सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरिने र काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ।
परिवारहरूको घरायसी सामान भने किर्तिपुरकाे सुन्दरिघाट स्थित राधास्वामी सत्संग व्यास नेपालमा सुरक्षित रूपमा भण्डारण गरिएको बताइएको छ।
सरकारले होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिबाट सुरु गर्ने जनाएको छ। पहिचानमा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागर्जुन नगरपालिका वडा नः १ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने बताइएको छ।







