ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरियो ।

अनावरण २०८३ बैसाख १२, सन् २०२६ अप्रिल २५ मा भयो ।
उक्त प्रतिमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको विशेष पहल र सक्रियतामा जे. भी. फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको हो ।
प्रतिमाको हस्तान्तरण यसअघि नै काठमाण्डौमा जे. भी. फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष जगदीश बैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुरले गरेका थिए ।
अनावरण कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा प्रतिमा उपलब्ध गराउने जे. भी. फाउण्डेसन नेपालका पदाधिकारी, प्रतिमा ल्हासासम्म ल्याउन र महावाणिज्यदूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोष लगायत सबै महानुभावलार्इ महावाणिज्यदूत निरौलाले प्रशंसापत्र प्रदान गरेका थिए ।
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले प्रतिमा अनावरण गर्दै सातौं शताब्दीमा तात्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीको नेपाल चीन संबन्ध स्थापना र सुदृढीकरणमा उल्लेखनीय योगदान रहेको, उनले चीनमा बौद्ध धर्म स्थापना र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, ल्हासाको योजनाबद्ध विकासमा पनि उनको योगदान रहेको र उनको प्रतिमा महावाणिज्यदूतावासमा स्थापना गरी अनावरण गर्न पाउनु खुशीको कुरा भएको बताए ।
अनावरण कार्यक्रमलाइ नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली एवम् जे. भी. फाउण्डेसन नेपालका पदाधिकारीहरूले समेत सम्बोधन गरेका थिए ।






