सिन्धुपाल्चोकको बाह्रबिसेबाट आफ्नो उद्यमशील यात्रा सुरु गरेका नरेशलाल श्रेष्ठ नेपाली निजी क्षेत्रका एक सक्रिय, अनुभवी र परिणाममुखी उद्योगीका रूपमा परिचित छन्। हाते कागज उद्योगबाट सुरु भएको उनको व्यावसायिक यात्रा विस्तार हुँदै वागमती पेपर उद्योगको स्थापना र सञ्चालनसम्म आइपुगेको छ, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान दिएको छ ।

श्रेष्ठले निर्यात क्षेत्रमा मात्र होइन, ऊर्जा, पर्यटन तथा स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा समेत लगानी विस्तार गर्दै हजारौँ व्यक्तिलाई रोजगारी सिर्जना गरेका छन् । उनी उत्पादनमुखी र देशभित्रै मूल्य श्रृंखला विकास गर्ने सोचका उद्योगीका रूपमा चिनिन्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटक लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भई कार्य गरेको अनुभवले उनलाई संस्थागत नेतृत्वमा परिपक्व बनाएको छ । हाल उनी महासंघको बस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । वर्तमान कार्यसमिति सदस्य तथा निर्यात प्रवद्र्धन समितिका सभापतिका रूपमा उनले नीतिगत तथा कार्यान्वयन तहमा काम गर्दै आएका छन् ।
निर्यात परिषद्मा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका श्रेष्ठलाई नेपालको निर्यात क्षेत्रमा देखिएका समस्या, अवरोध र सम्भावनाबारे गहिरो ज्ञान छ । उनले निर्यात प्रवद्र्धन, औद्योगिक समस्या समाधान र निजी क्षेत्रमैत्री बजेट निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । साथै, कृषियोग्य जमिनको सदुपयोग गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारेका छन् ।
उनको दृष्टिकोणमा ऊर्जा, कृषि र पर्यटन क्षेत्रका चुनौती समाधान गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट रणनीति रहेको देखिन्छ । उद्योगी–व्यवसायी पलायनको समस्या प्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले त्यसको समाधानका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको समर्थनमा आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठले ‘काम गर्न दिनुस्, मौका खेर जान दिन्न’ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि निजी क्षेत्रका मुद्दा बुझ्दै आएको अनुभव, लगनशीलता र परिणाम दिने क्षमता उनलाई महासंघको नेतृत्वका लागि एक सक्षम र आवश्यक व्यक्तित्वका रूपमा प्रस्तुत गर्दछ ।






