सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा सञ्चालित पर्यटन व्यवसायीहरूले अतिथिको गोपनीयता भंग गर्ने गतिविधि रोक्न कडा चेतावनी दिएका छन्।
सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरू पत्रकारको आवरणमा बिना अनुमति रिसोर्टभित्र प्रवेश गरी पर्यटकहरूको निजी क्षण खिच्ने र भ्रामक सामग्री सामाजिक सञ्जालमा फैलाउने कार्य बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अनुसार सुनकोशी नदी किनारमा विकसित सुकुटे क्षेत्र पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यहाँ सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूले आन्तरिक र बाह्य पर्यटकलाई सेवा दिँदै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
विज्ञप्तिमा पर्यटकहरू मनोरञ्जन र विश्रामका लागि आउने भएकाले उनीहरूको गोपनीयता, सुरक्षा र शान्ति कायम गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरिएको छ। अनुमति बिना फोटो वा भिडियो खिच्नु र त्यसलाई नकारात्मक ढंगले प्रचार गर्नु कानुनी तथा नैतिक रूपमा गलत भएको संघले स्पष्ट पारेको छ।
संघले सुकुटे क्षेत्रका सबै व्यवसायीहरूले प्रचलित कानुनअनुसार सेवा सञ्चालन गरिरहेको दाबी गर्दै आवश्यक जानकारीका लागि सम्बन्धित निकायबाट आधिकारिक विवरण लिन आग्रह गरेको छ। साथै, तथ्यहीन समाचार वा भ्रामक भिडियो प्रसारण नगर्न सञ्चारकर्मी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।
यस्ता गतिविधि नरोकिए कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी दिँदै संघले स्थानीय प्रशासन, सुरक्षा निकाय र सञ्चार क्षेत्रसँग सहकार्य गरी सुकुटेको मर्यादित पर्यटन वातावरण जोगाउन अपिल गरेको छ।







