मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा मेलम्ची नगर उद्योग वाणिज्य संघ ले वडा नं. १, २, ३ र ४ का व्यवसायी, उपभोक्ता तथा सरोकारवालाका लागि कर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
वडा नं. १ भोटेचौरमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष पुष्कर प्रसाद धिताल को अध्यक्षता तथा उमा प्रधान को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख प्रधानले व्यवसायीहरूलाई कर प्रणालीप्रति सचेत, पारदर्शी र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकारको सेवा प्रवाह प्रभावकारी बनाउन करदाताको भूमिका महत्वपूर्ण हुने बताउँदै व्यवसायलाई व्यवस्थित र दिगो बनाउन करसम्बन्धी ज्ञान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस्ता कार्यक्रमले व्यवसायीहरूलाई कानुनी प्रक्रिया तथा आर्थिक अनुशासनबारे जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय का कर अधिकृत रमेश न्यौपाने र टिकाराम शर्मा ले प्यान, भ्याट दर्ता, खारेजी लगायत करसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै कृषि विकास बैंक लिमिटेड मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराई ले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलाल ले आर्थिक ऐनमा समेटिएका करका दर तथा स्थानीय तहले संकलन गर्ने राजस्वबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार जेठ ५ गते बाहुनेपाटी बजारमा कर शिक्षा कार्यक्रम तथा जेठ ६ गते मेलम्चीमा आर्थिक ऐनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले करसम्बन्धी व्यवहारिक जानकारी प्राप्त भएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा वडा नं. १, २ र ३ का वडा अध्यक्षहरू कृष्ण मुरारी चौलागाईं, नगेन्द्र प्रसाद खतिवडा, कुमार बन्जरा तथा कार्यपालिका सदस्य गोमा दुलाल लगायतको उपस्थिति रहेको थियाे ।







