काठमाडौँ । चीन सरकारले अरनिको राजमार्ग स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी अनुदान सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकारले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेपछि लामो समयदेखि जीर्ण बनेको राजमार्ग सुधार हुने अपेक्षा बढेको छ ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त बनेको अरनिको राजमार्ग अहिले पनि जोखिमपूर्ण अवस्थामा रहेको छ । विशेषगरी वर्षायाममा इको पहिरो र डाक्लाङ पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुने समस्या कायम छ । यसले यात्रु आवागमनसँगै व्यापार व्यवसायमा समेत असर पार्दै आएको छ ।
नेपाल र चीनलाई जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी नाका भूकम्पपछि पूर्ण रूपमा सहज सञ्चालन हुन नसक्दा व्यापारिक गतिविधि प्रभावित बनेको छ । राजधानी काठमाडौँबाट करिब ११० किलोमिटर दूरीमा रहेको उक्त नाका नियमित र सहज रूपमा सञ्चालनमा आए दैनिक उपभोग्य सामग्रीको आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ ।
सरकारको निर्णयपछि तातोपानी क्षेत्रका व्यापारी तथा स्थानीय व्यवसायीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले राजमार्ग स्तरोन्नतिले व्यापार, पर्यटन तथा स्थानीय अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरेका छन् ।







