मेलम्ची । मेलम्ची नगरपालिका–५ स्थित शीतलादेवी माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले पछिल्लो समय नगरपालिकाभित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्नुभयो ।
विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण र गुणस्तरीय सिकाइमा नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । आगामी दिनमा शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउन नयाँ कार्यक्रम ल्याइने समेत उहाँको भनाइ थियो ।
कार्यक्रमकी विशेष अतिथि तथा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले नगरपालिका शिक्षा क्षेत्रलाई सधैं प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा नगरपालिका निरन्तर सक्रिय रहेको उहाँले जानकारी दिनुभयो ।
उपप्रमुख प्रधानले शीतलादेवी माध्यमिक विद्यालयले दशकौँदेखि यस क्षेत्रका हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो । विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय समुदायप्रति उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल, मेलम्ची नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी रिजाल, निवर्तमान वडाध्यक्ष भक्तबहादुर खड्कालगायत शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






