काठमाडौं :पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको कर छुट प्रकरणमा विशेष अदालतले तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले न्यौपानेलाई धरौटीमा छाड्ने निर्णय गरेको हो । अदालतको आदेशपछि तोकिएको रकम बुझाएपछि उनी रिहा हुनेछन् ।
यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा दायर गरेको भ्रष्टाचार मुद्दासँग सम्बन्धित हो । आयोगले पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी, उसका सञ्चालक तथा केही सरकारी कर्मचारीले ठेक्का सम्झौताविपरीत कर तथा राजस्व छुट उपलब्ध गराएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ ।
अख्तियारले मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ। बहुचर्चित यस प्रकरणमा अदालतले प्रारम्भिक सुनुवाइका क्रममा न्यौपानेसँग धरौटी माग्ने आदेश दिएसँगै मुद्दाको थप कानुनी प्रक्रिया अघि बढ्ने भएको छ ।







