काठमाडौं : बाँझो तथा उपयोगविहीन जमिनलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले सरकारले चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकामा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो ।
भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान गरी अभिलेख राखिनेछ । त्यस्ता जग्गा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा कृषि प्रयोजनमा उपयोग गर्न दिइनेछ। जग्गा प्रयोग गरेबापत सम्बन्धित जग्गाधनीले तोकिएको प्रतिफलसमेत पाउने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भूमि बैंकले भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत र आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै खेतीयोग्य जमिन उपलब्ध गराउन सहजीकरण गर्नेछ ।
भूमि बैंकमार्फत उपलब्ध हुने जमिनमा भूउपयोग वर्गीकरणअनुसार अन्नबाली, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालन सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग र अन्य कृषि सहुलियतलाई समेत लक्षित वर्गसँग जोडिने योजना छ ।
बाँझो जमिनलाई उत्पादनमा ल्याएर कृषि उत्पादन र उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यसहित भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।







