चितवन : राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन् ।
आइतबार बिहान करिब ६ः४० बजे बस्तीमा प्रवेश गरेको बाघले अधिकारीलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
बाघले सोही स्थानकी दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो । आक्रमणबाट गाई सामान्य घाइते भएको बताइएको छ ।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो । टोलीले खोजतलास गर्ने क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएको हो ।







