हेटौंडा : बागमती प्रदेशमा नेकपा एमालेका किरण थापा मगरको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्री थापा मगरले नयाँ मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनका लागि सिफारिस गरेका हुन् ।
नयाँ सरकारमा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहेका छन्। मुख्यमन्त्री थापा मगरले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नेछन् ।
कार्यविभाजनअनुसार गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ज्ञानबहादुर तामाङलाई भने हालका लागि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
यससँगै बागमती प्रदेशमा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा नयाँ सरकार गठन भएको हो । तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनसहित थापा मगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।







