चौतारा : चौतारा बहुमुखी क्याम्पसको २६औँ वार्षिकोत्सवमा क्याम्पसको शैक्षिक विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालमा उठिरहेको विवादले पनि प्रवेश पाएको छ ।
वार्षिकोत्सव समारोहमा क्याम्पसका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पस प्रमुखसँग सम्बन्धित विषय सामाजिक सञ्जालमा उठाउनुको पछाडि आर्थिक बार्गेनिङको उद्देश्य रहेको आरोप लगाए । उनले स्ववियुका पूर्वसभापति अमृत श्रेष्ठले उक्त विषय उठाएको र अन्य व्यक्तिलाई समेत क्याम्पसविरोधी गतिविधिमा लाग्न उक्साएको दाबी गरे ।
तर, अमृत श्रेष्ठले भने आफूले कतै आर्थिक बार्गेनिङ गरेको भए त्यसको प्रमाण पेस गर्न चुनौती दिएका छन् । आफूले आर्थिक लाभका लागि कुनै गतिविधि नगरेको दाबी गर्दै उनले प्रमाणसहित पुष्टि गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
यस विवादका बीच क्याम्पसले भने आफ्नो २६औँ वार्षिकोत्सव मनाएको हो ।
२०५८ सालमा पूर्वसांसद कृष्णराज श्रेष्ठको अगुवाइमा कृष्णरत्न गंगा माध्यमिक विद्यालयका दुई कोठाबाट सुरु भएको क्याम्पस अहिले आफ्नै स्वामित्वमा रहेको ३५ कोठाको सुविधासम्पन्न भवनबाट सञ्चालन भइरहेको छ ।
सुरुवातमा बीएड तहमा मात्रै अध्यापन हुने क्याम्पसमा अहिले स्नातकोत्तर तहसम्म अध्ययन–अध्यापन हुँदै आएको निमित्त क्याम्पस प्रमुख राजेन्द्र श्रेष्ठले बताए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई स्थानीय तथा प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनले जानकारी दिए ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले चौतारालाई शैक्षिक हबका रूपमा विकास गर्न क्याम्पसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।







