चौतारा : संविधान दिवसको अवसर पारेर रोटरी क्लबले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर दरबारडाँडास्थित शहीद स्मृति बालग्रामका ४९ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
अभिभावकविहीन तथा आर्थिक रूपमा विपन्न बालबालिका अध्ययनरत बालग्राममा रोटरी क्लबले कापी, कलम र सिसाकलम वितरण गरेको हो । शैक्षिक सामग्री पाएपछि बालबालिकामा उत्साह थपिएको छ ।
नगरपालिकाबाट सञ्चालित बालग्राममा विभिन्न कारणले अभिभावक गुमाएका तथा चरम गरिबीमा रहेका बालबालिकाले अध्ययन गर्दै आएका छन् । उनीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको रोटरी क्लबले जनाएको छ ।
सामग्री वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठलगायतको सहभागिता थियो ।
रोटरी क्लबका जिल्ला संयोजक हरिकुमार श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिए ।







