काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा फेरि भारी वर्षाको सम्भावना देखिएको छ । मौसम विज्ञान विभागले असोज ७ गते बिहानसम्म ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको हो ।
विभागले चारै जिल्लालाई पहेँलो संकेतमा राख्दै नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने जनाएको छ । प्रभावित क्षेत्रमा सडक तथा अन्य संरचना पुनःस्थापनाको काम भइरहेकाले थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच चितवनमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कालीखोला वर्षा मापन केन्द्रमा गएराति ४१.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन निकायले वर्षा गराउने प्रणालीको निरन्तर निगरानी र आवश्यक पूर्वतयारी अघि बढाउने निर्णय गरेको छ ।







