चौतारा : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि चौतारा बहुमुखी क्याम्पसले २५ हजार रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
क्याम्पसका प्राध्यापक र विद्यार्थीले स्वतःस्फूर्त रूपमा सञ्चालन गरेको सहयोग अभियानबाट रु. २५ हजार ४ सय ७५ संकलन भएको हो । संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विपद्को घडीमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले क्याम्पस परिवारले अभियान सञ्चालन गरेको हो । अभियानमा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो ।
क्याम्पस प्रशासनले सहयोग अभियानमा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।
‘सानो सहयोग, ठूलो आशा’ भन्ने भावनासहित गरिएको सहयोगले विपद्मा परेका परिवारलाई राहत र हौसला पुग्ने विश्वास क्याम्पसले जनाएको छ ।







