काठमाडौं : ८ करोड ४२ लाख ३६ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएको बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय शेरबहादुर मगरलाई पक्राउ गरिएको हो ।
मगरविरुद्ध विभिन्न व्यक्तिको जाहेरीका आधारमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १२ वटा मुद्दामा काठमाडौं जिल्ला अदालत, उच्च अदालत पाटन तथा भक्तपुर जिल्ला अदालतबाट फैसला भएको प्रहरीले जनाएको छ ।
अदालतको फैसलाअनुसार मगरलाई २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रुपैयाँ जरिवाना ठहर भएको थियो । फैसला कार्यान्वयनका लागि फरार रहेका उनलाई प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका–१० स्थित क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीविरुद्धका मुद्दामा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी कारोबार जोडिएको छ । विभिन्न अदालतमा चलेका मुद्दाको विवरणअनुसार बिगो रकम जोड्दा ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।








