सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि वंशलाल तामाङले उम्मेदवारी दिएका छन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका तामाङले आफ्नो राजनीतिक यात्राका क्रममा पार्टी संगठनदेखि लोकतान्त्रिक आन्दोलन र स्थानीय सरकारसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका तामाङ नेपाल विद्यार्थी संघको इकाइ सभापतिदेखि जिल्ला अध्यक्षसम्म बने । २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय रहेका उनी आन्दोलनका क्रममा पटक–पटक पक्राउ र नजरबन्दमा परेका थिए ।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य, सचिव, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । स्थानीय तहको नेतृत्वसँगै उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
१४औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका तामाङ यसअघि कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए ।
लामो समय पार्टी संगठनमा सक्रिय रहेका तामाङले आफूले हासिल गरेको राजनीतिक तथा जनप्रतिनिधिको अनुभवलाई पार्टीको नीति, संगठन र नेतृत्व निर्माणमा उपयोग गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन् ।
चार दशकभन्दा लामो राजनीतिक सक्रियतापछि तामाङको पछिल्लो उम्मेदवारीलाई कांग्रेसको महाधिवेशनमा क्षेत्र नं. २ को प्रतिनिधित्वका रूपमा हेरिएको छ ।







