मेलम्ची : कभर्डहल निर्माणको लक्ष्य पूरा गरेसँगै मेलम्ची ब्याडमिन्टन एकेडेमीले १४ वर्षपछि नेतृत्व परिवर्तन गरेको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
एकेडेमीको सुरुवाती चरणदेखि नेतृत्वमा रहेका कुमार सापकोटा र सचिव ऋषि नेपालको कार्यकालपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिएको हो। लामो समयदेखि ‘मेलम्ची ब्याडमिन्टन टिम’ का रूपमा सञ्चालन हुँदै आएको संस्था २०७८ सालमा औपचारिक रूपमा दर्ता भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन भएका छन् । सदस्यमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ रहेका छन् ।
लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले संस्थाको आगामी प्राथमिकता खेलाडी उत्पादन, संस्थागत विकास र ब्याडमिन्टन खेलको विस्तार रहेको बताए । उनले अहिलेसम्म एकेडेमीले बनाएको पहिचानलाई थप उचाइमा पुर्याउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
निवर्तमान अध्यक्ष कुमार सापकोटाले १४ वर्षको यात्रामा सहयोग गर्ने खेलाडी, सदस्य तथा शुभेच्छुकलाई धन्यवाद दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए । आफू नेतृत्वबाट बाहिरिए पनि एकेडेमीको गतिविधिमा निरन्तर साथ रहने उनले बताए ।
सचिव ऋषि नेपालले दोस्रो अधिवेशनमै जिम्मेवारी हस्तान्तरण गर्न खोजे पनि कभर्डहल निर्माण सम्पन्न गरेर मात्र नेतृत्व परिवर्तन गर्न प्रतिनिधिहरूले आग्रह गरेको बताए । कभर्डहल निर्माण पूरा भएसँगै आफूहरूले एउटा महत्वपूर्ण जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गर्न पाएको उनको भनाइ छ ।
एकेडेमीले खेलकुदसँगै सामाजिक उत्तरदायित्वका कामसमेत गर्दै आएको छ । पीडित तथा असहायलाई सहयोग गर्नुका साथै बाढीपहिरो र अन्य विपद्का समयमा प्रभावितलाई सहयोग गर्दै आएको जनाइएको छ ।
नयाँ कार्यसमितिले दशैँ र तिहारको बीचमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिताका क्रममा निवर्तमान कार्यसमितिको बिदाइ तथा नयाँ कार्यसमितिको पदस्थापन गर्ने कार्यक्रमसमेत राखिने भएको छ ।







