सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट सुप्रिया चालिसेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले ‘युवा महिला’तर्फबाट आफ्नो उम्मेदवारी अघि सारेकी हुन् ।
युवा तथा महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै चालिसेले पार्टीको नीति निर्माण तहमा नयाँ पुस्ताको आवाज स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन् ।
नेपाली कांग्रेसका आधारभूत मूल्य तथा सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्थानीय तहमा रहेका युवा र महिलाका समस्या तथा अपेक्षालाई केन्द्रसम्म पुर्याउन आफूले भूमिका निर्वाह गर्ने बताएकी छन् ।
राजनीतिक तथा पारिवारिक पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय रहेकी चालिसेको उम्मेदवारीले क्षेत्र नं. २ को कांग्रेस भित्र युवा र महिला प्रतिनिधित्वको बहसलाई थप अघि बढाएको छ ।
महाधिवेशनको तयारी तीव्र भइरहेका बेला चालिसेले क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट र संवादलाई बढाएकी छन् । उनले संगठनलाई थप सक्रिय बनाउँदै युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएकी छन् ।







