सिन्धुपाल्चोक : विपद्का बेला अन्य अत्यावश्यक सेवाजस्तै महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सेवा पनि निरन्तर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
१२औँ सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा चौतारामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले विपद् तथा सामान्य अवस्थामा महिलाले सुरक्षित, सम्मानजनक, गोपनीय र गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
“ऐक्यबद्धतासहित अघि बढौँ : विपद्मा सुरक्षित गर्भपतन सेवा लगायत प्रजनन न्याय सुनिश्चित गरौँ” भन्ने नाराका साथ जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले सुरक्षित गर्भपतन महिलाको प्रजनन स्वास्थ्य अधिकारसँग जोडिएको विषय भएकाले यसबारे समुदायमा पर्याप्त जानकारी पुर्याउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्था, सेवाको महत्त्व तथा प्रजनन स्वास्थ्यका विषयमा सहभागीलाई जानकारी गराउँदै गलत सूचना र भ्रमका कारण महिलाले जोखिमपूर्ण बाटो रोज्नुपर्ने अवस्था आउन नदिन जनचेतना आवश्यक रहेको बताउनुभयो ।
बजगाईंले सहकारीमा आबद्ध महिला सदस्यहरूलाई समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सूचना प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । चेतना मातृशिशु सहकारीले आफ्नो नाम र उद्देश्यअनुसार मातृ तथा शिशु स्वास्थ्यका विषयमा थप जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठलगायतको सहभागिता थियो ।


सहकारीका अध्यक्ष गुणकेसरी श्रेष्ठले संस्थाले मातृशिशु स्वास्थ्य तथा अन्य स्वास्थ्यसम्बन्धी विषयमा सदस्य र समुदायलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।






