सिन्धुपाल्चोक : सिम्पालकाभ्रेमा नेपाली कांग्रेसको संगठन विस्तारमा लामो समयदेखि सक्रिय रहँदै आएका श्री लामाले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आदिवासी जनजाति कोटातर्फ आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
सिम्पालकाभ्रेमा कांग्रेसको प्रभाव सीमित रहेको समयदेखि संगठन निर्माणमा सक्रिय लामा स्थानीय तहबाट पार्टी राजनीतिमा स्थापित भएका नेता हुन् । सिम्पालकाभ्रे कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाल्दै उनले गाउँ तहमा संगठन विस्तारको काम अघि बढाएका थिए। त्यसपछि तरुण दलको जिल्ला तहमा समेत रहेर पार्टी गतिविधिमा सक्रिय बने ।
लामाको राजनीतिक यात्रामा २०६१ सालको अपहरण घटना पनि जोडिएको छ । माओवादीद्वारा अपहरणमा परेका उनलाई तत्कालीन कांग्रेस जिल्ला सभापति स्वर्गीय विकास लामाको प्रेरणाले कांग्रेसको राजनीतिमा थप सक्रिय रहन प्रेरित गरेको बताइन्छ ।
स्थानीय राजनीतिमा पनि सक्रिय रहेका लामा १८ वर्षपछि भएको स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भए । पाँच वर्ष वडाको नेतृत्व गरेका उनी २०७९ को स्थानीय तह निर्वाचनमा भने पुनः निर्वाचित हुन सकेनन् ।
पार्टी संगठनमा निरन्तर सक्रिय लामाले कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाइसकेका छन् । यही अनुभवलाई निरन्तरता दिँदै उनी यसपटक पनि महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै लामाले आदिवासी जनजातिको प्रतिनिधित्वलाई पार्टीको निर्णय प्रक्रियामा थप प्रभावकारी बनाउने र संगठनलाई स्थानीय तहदेखि नै बलियो बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन् । उनको उम्मेदवारीसँगै क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका लागि कांग्रेसभित्रको प्रतिस्पर्धा थप रोचक बनेको छ ।







