सिन्धुपाल्चोक : ‘Digital Agenda and Artificial Intelligence to Redesign Tourism’ भन्ने नाराका साथ सिन्धुपाल्चोकमा विश्व पर्यटन दिवस–२०२६ मनाइएको छ ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सुकुटे बीच एडभेन्चर क्याम्प प्रालिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यालय प्रमुख त्रिपुरारी बख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले सिन्धुपाल्चोकको पर्यटन विकासका लागि सरकारी निकाय, पर्यटन व्यवसायी, सुरक्षा निकाय तथा स्थानीय सरोकारवाला सबै मिलेर अघि बढ्नुपर्ने बताए । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन सके सिन्धुपाल्चोकको पर्यटन पहिचान विस्तार हुनुका साथै व्यवसायीको आर्थिक गतिविधिसमेत बढ्ने उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सिन्धुपाल्चोकका प्रहरी उपरीक्षकद्वयलगायत पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।


सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापाले भोटेकोशी करिडोर क्षेत्रमा सञ्चालित होटल तथा पर्यटन व्यवसायले जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान दिइरहेको बताए। तर, बेलाबेलामा हुने अराजक गतिविधिले पर्यटन व्यवसाय प्रभावित हुनुका साथै पर्यटकलाई समेत निरुत्साहित गर्ने गरेको भन्दै उनले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षा निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताए ।

विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रममा पर्यटनसम्बन्धी प्रचार–प्रसार सामग्री तथा टी–सर्ट वितरण गरिएको थियो । साथै, पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघका अध्यक्ष थापालाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा पर्यटन क्षेत्रका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मी र उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।






