सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सिन्धुपाल्चोकमा नेतृत्वका आकांक्षीहरू चुनावी मैदानमा उत्रिन थालेका छन्। यसैक्रममा कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिएका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनको मूलधारमा प्रवेश गरेका तिमल्सिनाले नेविसंघको नेतृत्वदेखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । विद्यार्थी संगठन निर्माण, पार्टी संगठन विस्तार तथा कार्यकर्तासँगको निरन्तर समन्वयलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रूपमा अघि सारेका छन् ।
पार्टी सरकारमा हुँदा होस् वा प्रतिपक्षमा, जिल्लाका विकासका मुद्दा र सार्वजनिक सरोकारका विषयमा निरन्तर पहल गर्दै आएको उनको दाबी छ । विकास निर्माणका लागि बजेट व्यवस्थापनदेखि जिल्लाका आवश्यकता सम्बन्धित तहसम्म पुर्याउन उनले भूमिका खेल्दै आएको समर्थकहरूको भनाइ छ ।
कांग्रेस संगठन अप्ठ्यारो अवस्थामा रहेका बेला पनि कार्यकर्ता र संगठनको पक्षमा उभिँदै आएका तिमल्सिना पार्टीभित्र स्पष्ट धारणा राख्ने र समसामयिक विषयमा प्रखर रूपमा प्रस्तुत हुने नेताका रूपमा परिचित छन् ।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै तिमल्सिनाले पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन् । युवा पुस्ताको सहभागिता बढाउँदै संगठनलाई बलियो बनाउने तथा जिल्लाका विकास र जनसरोकारका विषयलाई केन्द्रसम्म प्रभावकारी रूपमा उठाउने उनको जोड छ ।
विद्यार्थी संगठन निर्माण देखि कांग्रेसको मूल संगठनसम्मको लामो राजनीतिक अनुभव बोकेका तिमल्सिनाको उम्मेदवारीसँगै सिन्धुपाल्चोक कांग्रेसको महाधिवेशन चुनावी माहोल थप रोचक बनेको छ ।






