काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रतिनिधिसभा सदस्य रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उजुरीमा सामाजिक सञ्जालमा प्रसाईंले सार्वजनिक गरेको सामग्रीलाई लिएर आपत्ति जनाइएको बताइएको छ ।
पक्राउको विषयमा साइबर ब्यूरोले भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
प्रसाईं यसअघि पनि विभिन्न विवाद तथा साइबर कसुरसम्बन्धी उजुरीमा पक्राउ पर्दै आएका छन् । पक्राउपछि अनुसन्धान गर्ने र आवश्यक प्रक्रिया पूरा गरी थप कानुनी कदम अघि बढाउने प्रहरीको तयारी छ।







