मेलम्ची : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा पार्टीको आन्तरिक गतिविधि बढ्न थालेको छ । यही क्रममा कांग्रेसको देउवा पक्षअन्तर्गत १५औँ महाधिवेशन तयारी समितिले मेलम्ची बजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
महाधिवेशन तयारीलाई थप व्यवस्थित बनाउने र जिल्लाका नेता–कार्यकर्ताबीच समन्वय बढाउने उद्देश्यले स्थापना गरिएको कार्यालयको उद्घाटन कांग्रेस नेता तथा पूर्व प्रदेशसभा उम्मेदवार विकास तामाङले गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेतसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
सम्पर्क कार्यालयलाई महाधिवेशन केन्द्रित गतिविधि सञ्चालन, संगठनात्मक समन्वय तथा नेता–कार्यकर्ताबीच आवश्यक संवादको केन्द्रका रूपमा प्रयोग गरिने तयारी समितिले जनाएको छ ।


कार्यक्रममा सहभागी नेताहरूले आगामी महाधिवेशनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन पार्टीभित्र आपसी समन्वय र सक्रियता आवश्यक रहेको धारणा राखेका थिए ।
महाधिवेशनको तयारीसँगै कांग्रेसभित्र नेतृत्व र प्रतिनिधित्वलाई लिएर आन्तरिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा मेलम्चीमा सम्पर्क कार्यालय सञ्चालनमा आउनुलाई जिल्लाको संगठनात्मक सक्रियताको संकेतका रूपमा लिइएको छ ।






