चौतारा : जलवायु परिवर्तन, विपद् र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिबीच सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालयले समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु गरेको छ ।
बिहीबार चौतारामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्, महामारी र विभिन्न रोगको नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको बताए ।
उनले विकसित राष्ट्रहरूको गतिविधिका कारण जलवायु परिवर्तनको असर नेपालजस्ता विकासोन्मुख देशले समेत भोग्नुपरेको उल्लेख गर्दै विपद्पछिको स्वास्थ्य जोखिम न्यूनीकरणमा स्वास्थ्यकर्मीहरू अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति र निजी स्वास्थ्य संस्थाको मापदण्ड पालनाको विषयसमेत उठेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनुगमनका क्रममा दर्जनभन्दा बढी निजी स्वास्थ्य संस्थालाई सिल गरिएको जानकारी दिँदै नियम पालना गरी सञ्चालनमा आए पुनः अनुमति दिन सकिने बताए। मापदण्ड पालना नगर्ने संस्थालाई भने स्थायी रूपमा बन्द गरिने उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको स्वास्थ्य सेवा सुधारका लागि प्रदेशस्तरबाट आवश्यक सहयोग गरिने बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारीले प्रतिबद्धता जनाए । जिल्लालाई पूर्ण स्वास्थ्य सेवामैत्री बनाउन स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र आवश्यक व्यवस्थापनमा सहयोग गर्ने उनले बताए ।
चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले जिल्लामै जटिल रोगको उपचार सम्भव बनाउन थप उपकरण र दक्ष जनशक्तिको आवश्यकता औँल्याए । माथिल्लो निकायबाट आवश्यक स्रोतसाधनको व्यवस्थापन हुनुपर्ने उल्लेख गर्दै उनले अस्पतालले बिरामीलाई सहज सेवा दिइरहेको र जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताए ।
जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागितामा सुरु भएको कार्यक्रममा प्रत्येक पालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी कामको छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नेछन्। उपलब्धि, चुनौती र कमजोरीको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पालिकाहरूबीच स्वास्थ्य सेवासम्बन्धी अनुभव आदानप्रदान गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमको तर्जुमा गरिनेछ।
उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीपक अर्याल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. रुपेश तिमल्सिनालगायतले स्वास्थ्य सेवा सुधारका विषयमा धारणा राखेका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले सहभागी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत निशान सापकोटाले गरेका थिए । कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवाला, गैरसरकारी संस्थाका प्रतिनिधि तथा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।






