सिन्धुपाल्चोक : नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार सहिदभूमि पिस्करमा सम्पन्न तेस्रो गाउँपालिका अधिवेशनले विष्णुकुमार श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा कृष्ण कार्की, सचिवमा सरस्वती खड्का तथा उपसचिवमा राजन राउत र छबिन्द्र खड्का सर्वसम्मत चयन भएका छन् ।
नयाँ नेतृत्व चयनसँगै त्रिपुरासुन्दरीमा एमालेले संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । अधिवेशनमा पार्टीको ऐतिहासिक विरासत, संगठनात्मक एकता र आगामी निर्वाचनको तयारीका विषयले समेत चर्चा पाएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै एमालेका अग्रज नेता अमृतकुमार बोहराले पार्टीको संगठन सुधार र विस्तारका लागि सबै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । उनले पार्टीलाई थप मजबुत बनाउन एकताबद्ध प्रयास आवश्यक रहेकोमा जोड दिए ।

एमाले नेता शरेस नेपालले त्रिपुरासुन्दरीको कम्युनिस्ट आन्दोलनको इतिहास स्मरण गर्दै पिस्करमा भएको विभत्स हत्याकाण्डको प्रसंग उठाए । उनले ऐतिहासिक बलिदानबाट स्थापित पार्टीको संगठन निर्माणमा सबै एकजुट भएर लाग्न आह्वान गरे ।
त्यस्तै, एमाले नेता अरुण नेपालले पार्टी निर्माणका लागि नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको जितका लागि संगठनलाई थप सशक्त बनाउनुपर्ने बताए ।
जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठले जिल्ला पार्टीलाई चुस्तदुरुस्त बनाउन पालिका तथा वडा कमिटीहरू थप सक्रिय हुनुपर्नेमा जोड दिए ।
अधिवेशनमा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय सूर्य लामा र डिबी तामाङ, जिल्ला कमिटी सदस्य सुशील श्रेष्ठ लगाएत विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो। सहभागी नेताहरूले पार्टीका नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने, संगठन विस्तार गर्ने र स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए ।
निवर्तमान अध्यक्ष बासु अधिकारीले आफ्नो कार्यकालमा पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयनलाई संगठनभित्रको सहकार्य र एकताको सन्देशका रूपमा प्रस्तुत गर्दै अधिवेशनले आगामी दिनमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।






