काठमाडौं : चार किलो सुन लुकाएर राखिएको सूचनाको आधारमा प्रहरीले छापा मार्यो, तर घरभित्रको दृश्य प्रहरीकै अनुमानभन्दा फरक निस्कियो । काठमाडौंको बुढानीलकण्ठस्थित एउटा घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद भयो । सुनको परिमाणसँगै त्यसलाई प्रशोधन गरेर बजारमा पुर्याउने तयारी भइरहेको आशंकाले घटनालाई थप गम्भीर बनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित घरमा सञ्चालन भइरहेको भनिएको अवैध सुन प्रशोधन केन्द्रमा छापा मार्दै तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले यस कारबाहीलाई ‘अपरेसन ब्राभो गोल्फ’ नाम दिएको छ ।
बरामद सुनको घटनाको दिनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

भाडाको घरभित्र सुन प्रशोधनको तयारी
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त घर सामान्य आवासका लागि मात्र प्रयोग भएको थिएन। तस्करीबाट ल्याइएको हुन सक्ने सुनलाई सुकाउने, गाल्ने र बिस्कुटलगायतका आकारमा ढालेर बजारमा पठाउने उद्देश्यले घर प्रयोग गरिएको आशंका छ ।
घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेका सुन र धातुका टुक्रा बरामद भएका छन् । सुन प्रशोधनमा प्रयोग हुने उपकरणसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घर मासिक तीन लाख ३० हजार रुपैयाँ भाडामा लिइएको थियो। चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
तीन चिनियाँ पक्राउ, मुख्य व्यवस्थापक अझै बाहिर
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेनलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घर भाडामा लिएर व्यवस्थापन गरेका भनिएका छु क्यान भने पक्राउ परेका छैनन् । उनी चीन फर्किएपछि अर्को टोलीलाई घरको चाबी उपलब्ध गराइएको र त्यसपछि सुन प्रशोधनको काम अघि बढेको अनुसन्धानमा खुलेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानले चीनको ग्वान्जाओमा रहेका जेन जिया लीको निर्देशनमा काठमाडौंमा सुन प्रशोधन तथा वितरणको काम भइरहेको हुन सक्ने देखाएको छ । प्रशोधन गरिएको सुन कहाँ र कसलाई दिने भन्ने निर्देशन वी–च्याटमार्फत आउने गरेको प्रहरीको भनाइ छ ।
कारभित्र भेटियो दुई किलो सुन
प्रहरीले घरको कम्पाउन्डमा रहेको भाडाको कारबाट एक–एक किलोका दुईवटा सुनका बिस्कुट पनि बरामद गरेको छ । ती बिस्कुट कागजले बेरेर चालकको सिटनजिक रहेको बक्समा राखिएका थिए ।
कार दैनिक आठ हजार रुपैयाँ भाडा तिर्ने गरी प्रयोग गरिएको प्रहरीको भनाइ छ । कारभित्र तयारी अवस्थामा सुन भेटिनुले उक्त सुन बजारतर्फ लैजाने तयारी भएको हुन सक्ने प्रहरीको अनुमान छ। तर सुन कहाँ पुर्याउने योजना थियो भन्ने विषय अझै खुल्न सकेको छैन ।

विमानस्थलबाटै भित्रियो तस्करीको सुन ?
बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पक्राउ परेका तीनै जना चिनियाँ नागरिक हङकङ हुँदै काठमाडौं आएको अध्यागमनको अभिलेखमा देखिएको छ ।
प्रहरीका अनुसार उनीहरू काठमाडौं आएपछि पनि पटक–पटक विमानस्थल जाने–आउने गरेका थिए । सुनलाई लेसिलो अवस्थामा बनाएर प्लास्टिकले बेरेर ल्याउने र काठमाडौंमा प्रशोधन गर्ने गरिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको प्रारम्भिक अनुमान छ ।
यद्यपि, विमानस्थलबाटै सुन भित्रिएको हो वा अन्य कुनै मार्ग प्रयोग गरिएको थियो भन्ने पुष्टि भइसकेको छैन ।

चाडपर्वको बजारलाई लक्षित गरेको आशंका
दशैं–तिहारजस्ता ठूला चाडपर्वमा सुनको माग बढ्ने भएकाले नेपाली बजारमा बिक्री गर्ने उद्देश्यले यस्तो कारोबार गरिएको हुन सक्ने प्रहरीको विश्लेषण छ ।
प्रहरीले बरामद सुनको स्रोत, नेपाल भित्र्याइएको मार्ग, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा सुनको अन्तिम गन्तव्यबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
चार किलो सुनको सूचनाबाट सुरु भएको अनुसन्धानले साढे २१ किलोभन्दा बढी सुन, प्रशोधनका उपकरण र तीन जना पक्राउ पर्ने अवस्था सिर्जना गरेको छ । तर यो कारोबारको वास्तविक सञ्जाल कति ठूलो छ र यसको पछाडि को–को छन् भन्ने प्रश्नको जवाफ अनुसन्धानबाट खुल्न बाँकी छ ।






