# स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण गर्न सिन्धुपाल्चोकमा विशेष तालिम

सिन्धुपाल्चोक : स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण र स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित सिन्धुपाल्चोकमा चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
बागमती प्रदेश सरकारको प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा चौतारा अस्पतालमा सुरु भएको तालिमले जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अभ्यासलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
तालिममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ नर्सिङ जनशक्तिसहितको टोलीले प्रशिक्षण दिइरहेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको प्राविधिक सहयोग तथा फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंका अनुसार तालिममा सहभागी स्वास्थ्यकर्मीले सिकेका ज्ञान र सीप आफ्ना कार्यस्थलमा प्रयोग गर्नुका साथै अन्य स्वास्थ्यकर्मीलाई समेत हस्तान्तरण गर्नेछन् । उनीहरूले सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत कोचिङ तथा मेन्टरिङमार्फत संक्रमण नियन्त्रण र फोहोर व्यवस्थापनका अभ्यासलाई प्रभावकारी बनाउन सहयोग गर्नेछन् ।
स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई संक्रमणको जोखिमबाट जोगाउन सुरक्षित कार्यविधि अपनाउनु आवश्यक रहेको सन्दर्भमा तालिमलाई महत्वपूर्ण रूपमा हेरिएको छ । स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन, संक्रमण नियन्त्रणका उपाय र सेवा प्रवाहको गुणस्तर सुधारमा तालिम केन्द्रित रहनेछ ।
प्रमुख बजगाईंका अनुसार प्रदेशभरिका ५० शय्याका अस्पतालमध्ये एमएसएस मूल्यांकनमा उत्कृष्ट रहेको चौतारा अस्पतालमा तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा चौतारा अस्पतालका प्रमुख विवेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं, फेयरमेडका टिम लिडर डम्बर सिं गुरुङ र महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङलगायत सहभागी थिए ।






