काठमाडौं : देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमानअनुसार शनिबार यी तीन प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशको तराई क्षेत्रमा समेत चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका अन्य हिमाली र पहाडी क्षेत्रमा बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।
राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा हुने अनुमान गरिएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ ।
यसैगरी, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
यसअघि पछिल्लो २४ घण्टामा पनि देशका केही स्थानमा भारी वर्षा भएको थियो भने अधिकांश वर्षा प्रभावित क्षेत्रमा मध्यम वर्षा भएको थियो ।






