काठमाडौं : बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ। बाढीले जगत बजारमा समेत ठूलो क्षति पुर्याएको छ ।

स्थानीय विशाल घलेका अनुसार बुढीगण्डकी नदीमा आएको बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि व्यापक क्षति गरेको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि बाढी आउनुको वास्तविक कारण पुष्टि हुन बाँकी छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव एक्कासि बढेको थियो । बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न उनले स्थानीयवासीलाई आग्रह गरेका छन् ।
नदीको बहाव अत्यधिक बढेपछि नदी आसपासका बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण तथा मानवीय क्षतिबारे जानकारी आउन बाँकी छ । जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।






