गोरखा : गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा फसेका ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य जारी राखेको छ ।


नेपाली सेनाले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको विवरणअनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये यारु क्षेत्रबाट एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली खटिएको छ। अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।
नदीमा आएको आकस्मिक बाढीले प्रभावित क्षेत्रमा जनधनको क्षति पुर्याएको आशंकाबीच सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।






