सिन्धुपाल्चोक :पाँचपोखरी थाङपाल गाउँपालिका–स्थित थाङपालधाप साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभाले बाबुराम पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले सदस्यलाई १५ प्रतिशत बोनस लाभांश वितरण गर्ने निर्णयसँगै संस्थाको आर्थिक तथा संस्थागत प्रगतिबारे समेत समीक्षा गरेको छ ।

गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, सहकारी शाखा प्रमुख ध्रुव लामिछानेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले सहकारीलाई ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र नागरिकको आर्थिक अवस्था सुधार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । उनले सदस्यको बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष अधिकारीले सहकारीले महिला तथा ग्रामीण समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्याएको उल्लेख गर्दै सदस्यलाई आत्मनिर्भर बनाउने र आयआर्जनका अवसर बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।
जिल्ला सहकारी संघका अध्यक्ष चौलागाईंले सहकारीका मूल्यमान्यता, सुशासन र आर्थिक पारदर्शितालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । प्रमुख प्रशासकीय अधिकृत कुइकेल तथा सहकारी शाखा प्रमुख लामिछानेले पनि वित्तीय अनुशासन, नियमित लेखापरीक्षण, अभिलेख व्यवस्थापन र सदस्यप्रतिको जवाफदेहितामा जोड दिए ।
सहकारीका पूर्वअध्यक्ष शिशिर वाइबा, माधवप्रसाद पाण्डेलगायतले संस्थाको विकास, सदस्यको आर्थिक समृद्धि र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा धारणा राखेका थिए ।
७५८ सदस्य, ८ करोड ५२ लाखको कारोबार
सहकारीका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रस्तुत विवरणअनुसार संस्थामा हाल ७५८ जना शेयर सदस्य रहेका छन् । सहकारीको कुल कारोबार ८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
सहकारीका प्रबन्धक प्रतिज्ञा पौड्यालका अनुसार साधारणसभाको अवसरमा शेयर सदस्यलाई १५ प्रतिशत बोनस लाभांश वितरण गरिएको छ । जसअन्तर्गत सदस्यहरूलाई कुल १० लाख ४ हजार ५६० रुपैयाँ लाभांश वितरण गरिएको उनले जानकारी दिइन् ।
कार्यक्रममा कलाकार भीमसेन खतिवडा, लक्ष्मी दर्नाललगायतले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा संस्थाको आर्थिक अवस्था सुदृढ बनाउने, सदस्यको हित संरक्षण गर्ने र सहकारीका सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।






