सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पटक पटक सांसद तथा मन्त्री हुने नेपाली काँग्रेस र माओवादीका दुई नेता अहिले दुवै न्यायालयको कठघरामा छन् । माओवादीको उपाध्यक्ष रहेका अग्नि सापकोटा वर्षौदेखि ज्यान मुद्दा बोकेर हिँडिरहेका छन् । नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतमाथि भर्खरै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सिन्धुपाल्चोकमा जन्मिएका हाल माओवादीका उपाध्यक्ष रहेका अग्निप्रसाद सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै सोही मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए ।
उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । काभ्रे माओवादीको तत्कालीन नेतृत्वमा रहेका सापकोटा हत्यामा संलग्नता रहेको पीडित परिवारको दाबी छ ।
२०६४ सालमा काभ्रेका अर्जुन लामा बेपत्ता भएपछि श्रीमती पूर्णिमायाले काभ्रे जिल्ला प्रहरी कार्यालयसमक्ष किटानी जाहेरी दर्ता गर्न गएकी थिइन् । तत्कालीन माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न गए पनि प्रहरीले बुझ्न मानेको थिएन । माओवादीले २०६२ वैशाख २१ गते अपहरण गरी सोही वर्षको असार दोस्रो साता लामाको हत्या गरेको किटानी पूर्णिमायाको छ । उजुरी लिन नमानेपछि प्रहरीविरुद्ध २०६४ सालमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
उक्त जाहेरी दर्खास्त सर्वोच्चले २०६४ फागुन २७ गते दर्ता गरी कानुनबमोजिम अरू कारबाही गर्न आदेश दिएको थियो । त्यो आदेश कार्यान्वयन नभएपछि सापकोटासहितका माओवादी नेतामाथि कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै पूर्णिमायाले २०६९ मंसिर ७ गते फेरि अर्को रिट निवेदन दिइन् । सर्वोच्चको पटकपटकको आदेशअनुरूप पूर्णिमायाको जाहेरी दरखास्त दर्ता भई आरोपित सापकोटाले मानवअधिकारको उल्लंघन गरेको भन्दै काभ्रे प्रहरीद्वारा पक्राउ पुर्जीसमेत जारी भयो । कारबाही प्रक्रिया अघि बढ्न थालेको अवस्थामा २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले उक्त जाहेरीलाई दरखास्त तामेलीमा पठायो । त्यसपछि त्यो निर्णयविरुद्ध पूर्णिमायाले २०६९ मंसिर ७ गते अर्को रिट निवेदन दर्ता गरिन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी ग¥यो ।
सापकोटा विरुद्धको उक्त मुद्दा अझैसम्म विचाराधीन छ । सापकोटालाई सभामुख बनाउने प्रक्रिया अगाडि बढाएपछि पीडितबाट दायर भएको अर्को रिट पनि विचाराधीन अवस्थामै छ ।
संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश श्रेष्ठ र मल्ललगायतले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले सत्यनिरूपण तथा मेलमिलाप आयोगले हेर्ने कि नियमित अदालतले हेर्ने भन्दै कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् ।
सापकोटाविरुद्ध दायर भएका मुद्दा २०७६ असोज २९देखि २०८० माघ २४ सम्म लगातार ‘हेर्न नभ्याइने’मा पर्दै आएको अवस्था थियो । २०७२ चैत २२ मा बल्ल यो मुद्दालाई संवैधानिक इजलासमा पठाउन आदेश भएको थियो ।
सिन्धुपाल्चोककै अर्का नेता तथा पूर्वमन्त्री मोहनवहादुर बस्नेतलाई पनि बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यसअघि अनुसन्धान टुंगिएको लामो समय बितिसक्दा पनि अख्तियारले टेरामक्स प्रकरणमा कुनै निर्णय गर्न सकेको थियो । सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अख्तियार अनिर्णित भएको छ ।
यी दुवै मुद्धा न्यायालयमा पुगेको छ । सापकोटा यो मुद्धालाई राजनीतिक आडमा धकेलिरहेका छन् । यो द्वन्द्वकालिन मुद्धा भएका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोगले मुद्धाको निक्र्यौल गर्ने सापकोटा पक्षको भनाई छ ।
उता बस्नेतको मुद्धा पनि राजनीतिक आग्रहमा दर्ता गरिएको बताइन्छ । बस्नेतको सांसद पद निलम्वनमा परेको छ । सापकोटा भने पटक पटक सुबिधाको पदमा पुगेका छन् ।






