अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको चिनियाँ किराना सामानसहित एक सवारीसाधन शशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
चैत ३० गते दिउँसो करिब २:३० बजे बाह्रबिसेबाट खाडिचौरतर्फ जाँदै गरेको ना.३ ख ५१४० नम्बरको डब्बा भ्यानलाई नियमित जाँचका क्रममा रोकेर निरीक्षण गर्दा उक्त सामान फेला परेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको नेतृत्वमा खटिएको टोलीले जाँच गर्दा सामानसँग सम्बन्धित आवश्यक कागजात,बिल बिजक र भन्सार प्रज्ञापन पत्र नभेटिएपछि भ्यानसहित सामान नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको सामानको अनुमानित मूल्य ८६ लाख ३१ हजार ८ सय रुपैयाँ रहेको छ भने सवारीसाधनको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ। यससँगै कुल बरामद मूल्य १ करोड १ लाख ३१ हजार ८ सय रुपैयाँ पुगेको छ।
नियन्त्रणमा लिइएको सामान र सवारीसाधनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा नाका हुँदै हुने अवैध आयात अझै चुनौतीपूर्ण रहेकाले यस्ता निगरानी तथा कारबाहीले राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।







