काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको नयाँ भवन निर्माणका लागि प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। नवनिर्वाचित अध्यक्ष बेदबहादुर श्रेष्ठले पदभार ग्रहण गरेसँगै भवन निर्माणको काम अघि बढाउने घोषणा गरेका हुन्।
अध्यक्ष श्रेष्ठका अनुसार पहिलो बैठकले भवन निर्माण प्रक्रिया अगाडि बढाउन नौ सदस्यीय उपसमिति गठन गरेको छ। उनले अधिवेशनका क्रममा गरेको प्रतिबद्धता अनुसार नै पहिलो निर्णयबाटै काम सुरु गरिएको स्पष्ट पारे।


बुधबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष दिलसुन्दर श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशलाई आर्थिक तथा संस्थागत रूपमा अब्बल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले अग्रजहरूको मार्गनिर्देशन र अनुजहरूको सहकार्यबाट प्रदेशका आगामी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।
संघीय संरचना लागू भएसँगै स्थापना भएको बागमती प्रदेश उद्योग वाणिज्य संघले यसअघि पनि मकवानपुरमा आफ्नै भवन निर्माणका लागि पहल गरेको थियो। तर, उक्त योजना कार्यान्वयन हुन सकेको थिएन। हाल भने नयाँ नेतृत्वले प्राथमिकताका साथ उक्त योजनालाई अघि बढाउने संकेत दिएको छ।
अध्यक्ष श्रेष्ठले भवन निर्माणलाई संघको दीर्घकालीन आवश्यकता र प्रतिष्ठासँग जोडिएको विषय भएको उल्लेख गर्दै यसलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।






