काठमाडौँ — नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालय ले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अबसम्म मासिक रूपमा हुँदै आएको तलब भुक्तानीलाई अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गर्ने व्यवस्था सुरु गर्न लागिएको हो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा मासिक रूपमा वितरण हुँदै आएकोमा अब त्यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको उल्लेख छ । यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
उक्त पत्र महालेखा नियन्त्रक कार्यालयलाई सम्बोधन गरिएको छ । निर्णयअनुसार २०८३ वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयका आधारमा यो नयाँ प्रणाली लागू गर्न प्रक्रिया अघि बढाइएको उल्लेख छ ।







