काठमाडौँ : मनसुनको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ । केही क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको समेत जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छल।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले बिहानैदेखि देशका विभिन्न स्थानमा बादल लागेको छल। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । तराईका कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानसहित मधेस, बागमती र गण्डकीका थोरै भूभागमा समेत वर्षाको सम्भावना छ ।
आज कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराईमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
राति पनि मौसममा खासै सुधार नआउने देखिएको छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशको तराईका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।







