२०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा मेयर हारेकी भगवती न्यौपाने राष्ट्रिय सभा सदस्य मनोनित भइन । फागुनसम्म उनको सांसद पद बाँकी थियो । तर, उनलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पद आईलाग्यो । यसमानेमा भगवती निक्कै भाग्यमानी भएको बिश्लेषण हुनथालेको छ ।

पराजित भए पनि पार्टीको सिफारिसमा निरन्तर अवसर पाइरहने व्यक्तिमा भगवती पर्छिन् । न्यौपाने २०७६ को निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा विजयी भएकी हुन् । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनी पार्टीको तर्फबाट सचेतक छिन् । उनै न्यौपाने अहिले सामान्य प्रशासन मन्त्री नियुक्त भइन् ।
वि.सं. २०५१ सालमा एमालेको साधारण सदस्यबाट राजनीतिक यात्रा थालेकी हुन् न्यौपाने । विद्यार्थी राजनीतिबाट खारिँदै अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, अनेमसंघ तनहुँको दुई कार्यकाल अध्यक्ष र पार्टीको जिल्ला कमिटीमा निरन्तर सक्रिय उनी तनहुँमै पार्टीको सचिवका रूपमा ९ वर्ष काम गरिन् ।
स्थानीय तहको निर्वाचनमा पराजय नभोगेको भए सायदै उनले मन्त्री बन्ने अवसर पाउने तनहुँका नेताहरु बताउँछन् । प्रत्यक्ष निर्वाचनमा पराजय भोगे पनि उनलाई साढे २ वर्षपछि एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनायो । तत्कालीन नेकपाको गठबन्धनका कारण उनले सहजै चुनाव जितिन् ।
न्यौपाने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेसवुक स्टाटस लगातार शेयर गर्नेमा पर्छिन् ।






