२०३६ सालको विद्यार्थी आन्दोलनपछि गाउँमा बिस्तारै चेतनाका लहरहरू फैलँदै थिए । बहुदलका पक्षधर शिक्षक,विद्यार्थी र युवा पङ्ति गीत सङ्गीत र नाटकजस्ता सांस्कृतिक कार्यक्रमद्वारा शोषित पीडित श्रमजीवी बर्गलाई अन्याय,अत्याचार ,शोषण र उत्पीडन विरुद्ध एकत्रित गर्ने काममा जुटेका थिए । त्यस बेला प्रगतिशील विचारधारामा आस्था राख्ने विद्यार्थी शक्तिहरू अखिल पाचौँ ,अखिल छैठौँ र फेडेरेसनमा बिभिन्न सङ्गठनहरूमा विभाजित थिए ।

अखिल पाचौँ सि पि मैनालीले नेतृत्व गरेको पार्टी नेकपा मालेको र अखिल छैठौँ मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी नेकपा चौमको भातृ सङ्गठन थियो । फेडेरेसनलाई बर्मा ,रायमाझी र मानन्धरले नेतृत्व गरेको रसियन समर्थक कम्युनिष्टहरूको भातृ सङ्गठन मानिन्थ्यो । हाम्रो जिल्लामा अखिल पाचौँ र अखिल प्रतिस्पर्धी शक्तिको रुपमा थिए । जिल्लाको पूर्बी भेगको कुरा गर्दा बिन्जेल , मांखा, ठूलोपाखर , धुस्कुन , बाह्रविसेको बाहुन गाउॅ र मानेस्वारामा अखिल छैठौँ को बलियो पक्कड थियो । टेकान्पुर,तौथलि,पिस्कर,चोकटी,कर्थली , बाह्रविसेको धार्पा र राम्चेमा अखिल पाचॅौको संगठन बलियो थियो । जिल्लामा फेडेरेसनको खासै प्रभाव थिएन ।
त्यस बेला म शारदा मा वि बाह्रबिसेमा शिक्षण गर्थें । बिन्द्रप्रसाद ढकाल भद्रकाली निमावि मानेस्वाँरामा प्रअ हुनुहुन्थ्यो । दाइ र म औधी मिल्ने साथी थियॅौ । कक्षा १ देखि १० सम्मको सहपाठीमात्र हैन,हाम्रो किताब नै १ सेटमात्रै हुन्थ्यो । संयुक्त अध्ययन गर्थ्यौ तर फरक राजनैतिक धारको प्रतिनिधित्व गर्थ्यौ । दाइ नेकपा मालेसँग सम्बद्ध हुनुहुन्थ्यो । अखिल पाचॅौलाई समर्थन गर्नहुन्थ्यो । म नेकपा चौमसॅग नजिक थिए । अखिल छैठॅौलाई समर्थन गर्थे ।
एक दिन हामी राम्चेली युवा पञ्चायत भवनमा भेला भयौं । राम्चेमा नाटक प्रदर्शन गर्ने विषयमा छलफल भयो ।भेलाले नाटक प्रदर्शन गर्ने र नाटक चयन ,गीत लेखन र प्रहसन सङ्कलन सबैको जिम्मा बिन्द्र दाइ र मलाई दिने निर्णय गर्यो । हामीले ब्युँझेको गाउँ शीर्षकको प्रगतिशील नाटक मञ्चन गर्ने सल्लाह गर्यौं। नाटकको विषयवस्तुसँग मिल्ने गीतहरू लेख्यौ । प्रहसनहरू सङ्कलन गर्यौं र पञ्चायत भवनमा नाटकको रियलसल गर्यौं। मात्र तीन हप्ताको रिहर्सलपछि २०३७ मङ्सिरको तेस्रो हप्ता थरिप्रसाद ठूलाबाको ठूलो खेतको ठूलो पाटोमा नाटक प्रदर्शन गर्यौं।






