यो एउटा सिपाहीको कथा होइन, सिङ्गो सिपाही समाजको कथा व्यथा हो । आफू–आफूमा लडिरहेका दुवै पक्षका सिपाहीहरूप्रति युद्धबाट पीडित परिवारजनप्रति सहानुभूति र विवेकपूर्ण प्रस्तुतिद्वारा सुरु गरिएको सिपाहीमा संसार नाशवान् भएकाले आपसको वैरभाव व्यर्थ हो भन्दै केही लेखेर चौतारीमा बसिरहेका काव्यकारसँग सहरमा सिपाहीको जागिर खान जान लागेको बताउने कान्छोसँग भेट भएपछि कथानकको प्रारम्भ गरिएको छ । काव्यकारसँग भेट भएपछि कान्छाले आफ्नो गरिबीको यथार्थ वर्णन गर्दै सिपाहीमा भर्ती हुन जान लागेको बताउँछ । कान्छाको उक्त रहर सुनेर काव्यकार एउटा सिपाहीको कथा सुनाउँछन् ।

रातमाटे गाउँका जङ्गे क्षेत्री खान्दानी थिए । उनका पाँच जना छोराहरू थिए । ती पाँच छोराहरूमध्ये जेठो शम्भु जर्नेल, माहिलो रामे मन्त्री, काइँलो पत्रकार, कान्छो काव्यकार थिए भने साहिँलो कालुचाहिँ सत्ताको विद्रोही थियो । उनीहरूकी एउटी बहिनी पनि थिई, सानी । सानी मिठो बोलीबचन भएकी, मिठो स्वरमा गाउने गायिका थिई । आफ्नो साहिँलो भाइ आफूहरूभन्दा विपरीत बाटो हिँडेको हुँदा शम्भुले अंश दिएन । त्यसै गरी मन्त्री भएको रामेले पुलिस लगायो । ती दुवै मिलेर काइँलो पत्रकार र कान्छो काव्यकारले आफूहरूलाई सहयोग नगरेको भनी पत्रकारलाई जेल हाले र कान्छालाई हेलाँ गरे । आफूमाथिको यस्तो अन्याय सहन नसकेर काले क्रान्तिकारी बनेर संरचनाहरू ध्वस्त पार्न लाग्यो । यसरी आफू–आफूमा उनीहरू मारामार गर्न थाले ।
रामेलाई राज्यसत्ता टिकाउन गाह्रो पर्न थाल्यो । उसले सैनिकलाई सुविधा थप गरी कालेको टाउकोको मूल्य तोकी इनामको घोषणा गर्यो । उता कालेले आफ्नो दलबल बढाउँदै गयो । शम्भु र रामे एक भएर कालेको विरुद्ध योजना बनाउन थाले । पत्रकारले वार्ताको सल्लाह दिँदा उल्टै गाली गरे । “आफू–आफूमा झगडा नगरी मिल” भन्दा आमालाई शम्भु र रामेले मारे । कान्छो कविलाई घरबाट निकाले । खान नपाएर लखतरान भएर बेहोस भई लड्दा पनि काव्यकारलाई सिस्नुपानी लगाएर, नाङ्गेझार पारी पिटे, औँला काटिदिए । जेठो शम्भु र माइलो रामेका सन्तानले सरकारी जागिर खाए । कालेका सन्तानले केही पाएनन् । पत्रकार हरि उनीहरूको शक्ति देखेर अन्ततः उतै मिल्यो ।
चौतारीमा काव्यकारले कान्छालाई यिनै घटनाहरू बताउँदै थिए । घरबाट निकालिएकी सानी ओढारमा साधना गरेर बस्न थाली । त्यहाँ जनसेनाका सिपाहीसँग उसको भेट भयो । आ–आफ्नो अतीत बताएपछि जङ्गे र रामेले सानीलाई भेट्टाएमा पक्रने कुरा युवकले उनलाई बताएपछि दुवै जना त्यहाँबाट हिँडे । सञ्जयले सानीसँग बिहेको प्रस्ताव राख्यो । दुवैको कुरा मिलेपछि सैन्य नियमअनुसार अनुमति लिएर फर्कने बताएर सञ्जय हिँड्यो । अनुमति नपाएपछि सञ्जय र सानी भागेर अन्तै गएर प्रेमपूर्वक रहन थाले । रहँदा–बस्दा दश महिना बितेपछि सानीले छोरो पाई । पछि फर्कने वाचा गरी सञ्जय त्यहाँबाट सेनातर्फ नै हिँड्यो । पछि राजाका सिपाही आएर सानीको छोरो मारिदिए । सानीलाई उनीहरूले बलात्कार पनि गरे ।
नैतिक दृष्टान्तबाट प्रारम्भ भएको बाँकी खण्डमा व्यासले ९काव्यकार० आफू जेलमा बस्दाका दुखद् अनुभूति बताए । आफूलाई त्यति बेला चारपाटा मुडेको, तातो झीरले पोलेको, नुन–खोर्सानी दलिदिएको, सिस्नुपानी लगाएको, ठिङगुरा ठोकेको, यातना दिई–दिई मारिएको, पानी माग्दा मुखमा पिसाब गरिदिएका जस्ता पीडा व्यासले सुनाए । व्यासले राणकालीन ज्यादती, सहिद काण्डको वर्णन, २०४६ सालपछिका सरकार र पार्टीहरूका गतिविधिको वर्णन, जनयुद्ध र लालसेनाका गतिविधिको वर्णन कान्छालाई सुनाए । उनले आफू नै व्यास भएको र अन्यायीहरूबाट बच्न यस चौतारीमा बसेको रहस्योद्घाटन पनि कान्छालाई सुनाए । व्यास र कान्छासँग कुराकानी भइरहँदा आएकी एउटी महिलासँग सोधपुछ र कुराकानी हुँदा उसले आफू कान्छी भएको बताई । कान्छीले विवाहकै दिन आफ्नो लोग्नेलाई राजाको सिपाही भएको कारण जनक्रान्तिमा लागेका सिपाहीहरूले मारिदिएको बताई । यस खालको द्वन्द्वले धेरै क्षति पुर्या एको बताउँदै व्यासले कान्छालाई सिपाहीमा नजाने सर्तमा कान्छीसँग प्रेमविवाह गराइदिए ।
कान्छा–कान्छी चौतारीमा बसेर व्यासबाट कविता र कथा सुन्न थाले । सञ्जय र सानीको प्रेमकथा, सानीको छोरालाई राजाका सेनाले मारेको र सानीलाई बलात्कार गरेको घटना, लालसेनाले बेहोस सानीलाई भेटेको, छोराको लास देखेर सानीले विलाप गरेकी, बदला लिन लालसेनाले सदरमुकाम आक्रमण गरेको, दुवै पक्षका धेरै मानिसहरू मारिएका, सानी प्रतिशोधले बन्दुक बोकेर लालसेनामा नारी नेतृत्व गरी हिँड्न थालेकी, फौजी कमान्डर सञ्जय गाउँबस्ती घुम्दै जाँदा हिमाली शेर्पाबस्ती पुगेको आदि घटनाहरूको वर्णन व्यासले उनीहरूलाई सुनाए । फेरि व्यासले सञ्जय देश–विदेशसम्म चर्चित हुँदै गएको, सानीसँग सञ्जयको भेट भएको, पुत्रहत्या र सदरमुकाम आक्रमण, सरकारले झन् दबाउन थालेको, गाउँबस्ती ध्वस्त भएको, सञ्जय र सानीको फौजले छाया सरकार बनाएको घटनाहरू उनीहरूलाई सुनाए । व्यासले आफ्नो सामु बसेर कथा सुन्दै गरेका कान्छा–कान्छीलाई देशमा सङ्कटकाल लागेको, वीरेन्द्रको हत्या भएको, जनसेनाले दरबार कब्जा गर्न प्रयास गरेको, सरकारद्वारा प्रतिकारको दह्रो तयारी भएको घटनाहरू सुनाए । त्यसपछि जनक्रान्ति बढेर राज्यसत्ता कालेले प्राप्त गरेको, सञ्जय जेलबाट छुटेपछि केही समय समाजबाट विकृति घटेको, काले र सञ्जयमा कुर्सीको विवाद परेको, सानीले नारी वर्गमा परिवर्तन ल्याएका जस्ता घटनाहरू पनि व्यासले उनीहरूलाई सुनाए ।
रात पर्दै गएकाले ती तीन जना व्यासकै कुटीमा गए । त्यहाँ शम्भु र रामेले सत्ता प्राप्त गर्न पुनः प्रतिक्रान्ति गर्न थाल्ने क्रममा उनीहरूले जासुस ठानेर व्यासको ओढारमा बम प्रहार गरे । कान्छा र व्यासको मृत्यु भयो । कान्छी बिलौना गर्न थाली । अकस्मात् कालु र सञ्जयको फौजसँग सरकारी फौजको जम्काभेट भयो । कान्छीको मुखबाट कारुणिक आर्तपुकार सुनेर शम्भु र सञ्जयले हतियार फाले । उनीहरूले अब नौलो विचारका साथ राज्य खडा गर्ने प्रतिबद्धता जनाए । उनीहरू एकापसमा मिले र हतियार पोखरीमा फाले । कान्छीलाई धन्यवाद दिएर सहअस्तित्वमा राज्य सञ्चालन गर्ने नयाँ बाटो खोज्ने सहमति उनीहरूमाझ भयो । यसरी सिपाही खण्डको कथानक अन्त्य भएको छ भने अन्तिममा कविका काव्य सिर्जनाप्रतिको दृष्टिकोण र क्षमायाचनाको प्रस्तुति भएको छ ।






