सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा कार्यकक्षमै कुटपिट गरिएको घटना बाहिर आएको छ।

स्थानीय स्रोतका अनुसार विद्यालयभित्रै सामान्य विवादका क्रममा अध्यक्षले प्रधानाध्यापक भण्डारीलाई चड्काएर आँखामा गम्भीर चोट पुर्याएका छन्। घटनापछि उनी उपचाररत छन्।
शिक्षक तथा स्थानीय समुदायले विद्यालय प्रशासनभित्रै शिक्षकमाथि भएको शारीरिक आक्रमणलाई गम्भीर आपराधिक कृत्य भन्दै विरोध जनाएका छन्। “प्रधानाध्यापकलाई कार्यकक्षमै कुटपिट गर्नु अत्यन्तै आपत्तिजनक निन्दनीय कार्य हो। यस्तो अपराधी व्यवहार सह्य हुन सक्दैन,” एक स्थानीय शिक्षकले भने।
शिक्षक संगठन र स्थानीय सरोकारवाला निकायहरूले दोषीमाथि तुरुन्त कारबाहीको माग गरेका छन्। उनीहरूले भनेका छन्— “शिक्षक तथा प्रधानाध्यापक कार्यकक्षमै कुटिने अवस्था अत्यन्तै दुःखद छ। यस्ता घटनाले शिक्षाको वातावरणमै संकट ल्याउँछ।”

घटनापछि इन्द्रावती गाउँपालिका र स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको जनाइएको छ। घाइते प्रधानाध्यापक भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शिक्षक समुदायले ऐक्यबद्धता प्रकट गरेका छन्।






