चौतारा। प्रकाशित तथा प्रसारित समाचारको विषयलाई लिएर सिन्धुपाल्चोक जिल्लाका केही सञ्चारमाध्यम र पत्रकारमाथि दबाब, धम्की तथा कारबाहीको चेतावनी दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
सार्वजनिक निकायमा हुने दुर्व्यवहार, हिंसा र अनियमितताका विषयमा समाचार प्रकाशन गरेकै कारण पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न लाञ्छना लगाउँदै भिडियो सामग्रीमार्फत कारबाहीको चेतावनी दिइनु अत्यन्तै निन्दनीय भएको महासंघले जनाएको छ। महासंघको सिन्धुपाल्चोक शाखाले यस्ता घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको निष्कर्ष निकालेको छ।
महासंघले कुनै पनि विषयमा समाचार संकलन तथा प्रकाशन गर्नु पत्रकारको संवैधानिक अधिकार भएको स्पष्ट गर्दै समाचार सामग्रीप्रति असहमति भए प्रचलित कानुनी प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपाल वा अदालतमार्फत उजुरी गर्न सकिने व्यवस्था रहेको स्मरण गराएको छ। त्यस विपरीत पत्रकार र सञ्चारमाध्यममाथि दबाब, धम्की र डरत्रास सिर्जना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन भएको महासंघको ठहर छ।
घटनाको छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न तथा संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघले सम्बन्धित निकाय र स्थानीय प्रशासनसँग माग गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्नुपर्ने महासंघको जोड छ।
व्यावसायिक पत्रकारिताको आधार पत्रकार आचारसंहिता भएको उल्लेख गर्दै महासंघले आचारसंहिताको पालना गर्दै तथ्यपरक, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न सबै पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।







