शेर बहादुर तामाङले प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गतका सबै पालिकाका गाउँ–बस्तीमा पुगेर घरदैलो अभियान सम्पन्न गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार बनेका तामाङले अभियानका क्रममा जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षा सुनेका हुन्।
घरदैलो अभियानका क्रममा अधिकांश स्थानमा स्थानीय बासिन्दाले तामाङलाई भव्य स्वागत गरेका थिए। विभिन्न गाउँबस्तीमा आयोजित भेटघाट कार्यक्रममा स्थानीयले फूलमाला र खादा लगाएर स्वागत गर्दै आगामी निर्वाचनमा साथ र समर्थन रहने विश्वास व्यक्त गरेका थिए।
अभियानका क्रममा मतदाताहरूले विशेषगरी बाँदर र बँदेलबाट बालीनालीमा भइरहेको क्षति, किसानले भोग्नुपरेको समस्या तथा सडक–मोटरबाटोको दुरवस्थाबारे गुनासो राखेका थिए। कृषिमा निर्भर अधिकांश परिवारले जंगली जनावरका कारण उत्पादनमा कमी आएको, रातदिन खेतबारी जोगाउनुपर्ने बाध्यता रहेको बताएका थिए। त्यस्तै कतिपय स्थानमा सडकको स्तरोन्नति नहुँदा आवतजावत, बिरामी ओसारपसार र कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ भएको गुनासो पनि सुनाएका थिए।
यस सम्बन्धमा तामाङले आफू निर्वाचित भएपछि बाँदर तथा बँदेल नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउने, किसानलाई राहत तथा क्षतिपूर्ति व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, क्षेत्रभित्रका मुख्य तथा ग्रामीण सडकहरूको स्तरोन्नति, कालोपत्रे र नियमित मर्मत–सम्भारलाई प्राथमिकतामा राख्ने उनले बताए।
तामाङले “जनताको समस्या नै मेरो एजेण्डा हो” भन्दै घरदैलो अभियानले आफूलाई नागरिकका वास्तविक मुद्दा बुझ्ने अवसर दिएको उल्लेख गरे। उनले विकास, कृषि संरक्षण, रोजगारी सिर्जना र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा घरदैलो अभियान सम्पन्न गरेसँगै तामाङले अब टोल–भेला, अन्तरक्रिया तथा लक्षित समूहसँग छलफल कार्यक्रमलाई तीव्रता दिने बताएका छन्। स्थानीय मतदाताले उठाएका मुद्दालाई चुनावी प्रतिबद्धतामा समेट्दै अगाडि बढ्ने उनको भनाइ छ।






